काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यका लागि प्रयास गर्ने बताएका छन्।
शुक्रवार रास्वपाको स्थापना दिवसको अवसर पारेर सो पार्टीले काठमाडौंमा आयोजना गरेको गरेको एक कार्यक्रममा उनले सहकार्य गरेर अघि बढ्नका लागि संवादमा नै रहेको दाबी समेत गरे। सञ्चारकर्मीहरुले दुई पार्टी मिलेर अघि बढे संसदमा ठूलो राजनीतिक शक्ति बन्नेतर्फ ध्यानाकर्षण गराएका थिए। जवाफमा अध्यक्ष लिङदेनले त्यसका लागि प्रयत्न गर्ने प्रतिक्रिया दिए।
विगतमा पनि निर्वाचन सकिएलगत्तै आफ्नो पार्टीले रास्वपासँग सहकार्यका लागि प्रयास गरेको भएपनि सफल नभएको बताए। अध्यक्ष लिङदेनले रास्वपाको प्रवेशले पनि संसदको काम गर्ने शैलीमा सुधार आउन नसकेको पनि औंल्याए। उनले भने,‘रास्वपा आएपछि संसदको गणितमा फरक होला। तर संसद पहिला जे थियो, त्यही छ। नियमावलीहरु दुई, चार अक्षरहरु तलमाथि होला। त्यही छ। प्रवृत्ति त्यही छ।’





