
काठमाडौँ : संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो ।
संसद् भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसद्का कर्मचारीहरूको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्रीज्युको कार्यकक्षमा सम्माननीय सभामुखज्यु, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यु, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसद्का कर्मचारीहरूले जुन माग उठाएर सेवा सुविधानको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरूको मागलाई सम्बोधन गरेर संसद्लाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्नेगरी संयोजन समिति बनेको छ । त्यसले आजबाट काम सुरु गर्दछ । आज भोलिमै यो विषय टुंग्याउँछौँ । माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ,’ कानुनमन्त्री गिरीले भने ।
नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले संघीय संसदका कर्मचारीहरुले जायज माग उठाएर आन्दोलन गरेको भन्दै माग सम्बोधन तत्काल हुनुपर्ने बताइन् ।
यता, संसद् सचिवालयका कर्मचारीहरूले भने विरोध प्रदर्शन जारी राखेका छन् । संसद् भवन परिसरमा हातमा कालो पट्टी बाँधेर र विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् । संसद् सचिवालयका कर्मचारीहरूले विगत केही दिन यता अतिरिक्त समयमा गरेको कामको पारिश्रमीक पाउनुपर्ने मागसहित ११ बुँदे माग राखी विरोध प्रदर्शन गरेका छन् ।