
नेपालगन्ज : छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा बढी गाउँका बासिन्दा बाढी र डुबानको उच्च जोखिमसँगै त्रासमा रहेका हुन् ।
राप्ती सोनारी गाउँपालिका–७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध एक वर्षअघि बाढीले बगाएको थियो । त्यसको पुनर्निर्माणका लागि माग गरिएको छ करोड रुपियाँको बजेट नपाई पुनर्निर्माण नहुँदा त्रास बढेको हो । गत वर्षको बाढीले बगाएको तटबन्ध यस वर्ष वर्षा सुरु हुने बेलासम्म पनि पुनर्निर्माण नहुँदा सो क्षेत्र डुबान र बाढीको चपेटामा पर्ने निश्चित जस्तै देखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार पहाडी क्षेत्रमा पानी परिरहेकाले राप्तीमा पानीको सतह बढ्न थालेको छ ।
अध्यक्ष शाहले तत्काल तटबन्ध निर्माण नगरिए राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्ला झगडिया, गेदुवा, गङ्गापुर, सोनवर्षा खुदरबेटवा र कडुवालगायतका गाउँमा राप्ती नदी पस्ने चिन्ता बढ्दै गएको छ । भत्किएको २८० मिटर लामो तटबन्ध तत्काल पुनर्निर्माण नगरिने हो भने सो वरिपरिका सात गाउँमा ठुलो जनधनको क्षति हुने निश्चित रहेको जनाउँदै स्थानीयले जोगाउन सरकारसँग हारगुहार गरेका छन् ।
स्थानीय अगुवा दुर्गाप्रसाद पाण्डेले गत वर्ष तटबन्ध भत्किएलगत्तैबाट हालसम्म जिल्ला प्रशासन, स्थानीय पालिका र ‘जनताको तटबन्ध’ कार्यक्रमलाई पटक पटक पुनर्निर्माणका लागि आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको गुनासो गरे । वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारूले पटक पटक लिखित रूपमै तटबन्ध निर्माणका लागि वडाबाट सम्बन्धित निकायमा आग्रह गरिए पनि बजेट नभएको भन्दै कुनै सुनुवाइ नगरिएको बताए ।
यसबारे जनताको तटबन्ध कार्यक्रम लमहीका सब डिभिजनल इन्जिनियर राजन श्रेष्ठले गत मङ्सिरदेखि नै बजेटका लागि केन्द्रमा पटक पटक लेखेर पठाइए पनि बजेट नपाउँदा काम गर्न नसकिएको बताए। उनले २८० मिटर तटबन्ध निर्माणका लागि छ करोड रुपियाँको लागत अनुमान पठाइए पनि बजेट नआउँदा काम नभएको बताए तर अहिले बाढीको समय एकदमै नजिकिएकाले कार्यालयले आफ्नो सीमित बजेटबाट रोकथामको प्रयास गरिरहेको उनले बताए।
सरकारले छ करोड रुपियाँ जोगाउन ५० हजारभन्दा बढीको ज्यान जोखिममा पारेको दुखेसो गर्दै देउपुरा गाउँका स्थानीय रामअचल यादवले यस क्षेत्रका जनतामाथि दया गर्न सरकारसँग माग गरे । बाढी र डुबानबाट जोगाउन स्थानीयले हारगुहार गरेपछि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित सुरक्षा समितिको टोलीले भत्किएको तटबन्धको स्थलगत निरीक्षण गरेको छ । गोरखापत्र