
काठमाडौं : गृहमन्त्रालयले सार्वजनिक यातायातलाई सुरक्षित तथा अपाङ्गमैत्री बनाउन गरेको निर्णय कार्यान्वयनमा सकस देखिएको छ । सचिवस्तरीय निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् पठाइएको उक्त पत्रमा यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् ।
गृहको गत जेठ १७ को निर्णयअनुसार सवारीसाधनभित्र यात्रुको सुरक्षालाई भरपर्दो बनाउन १ महिनाभित्र सीसीटीभी राख्नुपर्नेछ । त्यस्तै अपाङ्गमैत्री र अशक्तमैत्री बनाउन अपाङ्गमैत्री र्याम्प (सिँढी) राख्न निर्देशन दिइएको छ ।
प्रहरी प्रधान कार्यालय, यातायात व्यवस्था कार्यालय र सबै जिल्ला प्रशासनलाई बोधार्थ दिइएको उक्त पत्रमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने भनिएको छ ।
हेर्नुहोस् पत्र-
यातायात व्यवसायीले भने मन्त्रालयले आफूहरूसँग कुनै छलफल नै नगरी चर्चाको लागि आफू खुशी निर्णय गरेको बताएका छन् । आर्थिक भार, संरचना बनाउन लाग्ने समय, त्यसबाट हुने हानी नोक्सानी र कानूनी अड्चनको ख्याल नगरी हचुवाको भरमा निर्णय गरेको उनीहरूको गुनासो छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले सरकारले व्यवसायीले लामो समयदेखि भएको समस्या उठाउँदा नसुन्ने तर आफू खुशी निर्णय गर्दा व्यवसायी समस्यामा पर्ने भएकाले उक्त निर्णय नमान्ने बताए ।