‘जादुगर’ हुँ भनेजसरी यता र उता उफ्रने काम प्रधानमन्त्री प्रचण्डलाई छाडिदिऊँ : गगन थापा

२०८१ असार ११, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
साथै, सरकार अहिले चलाइरहेका राजनीतिक दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता÷कार्यकर्ताहरूलाई आग्रह गरे।

उनले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए।

‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ। एमोल, माओवादी, घण्टी, बण्टी, जो—जोले चलाएका छन्, चलाउन दिउँ। चलाउन्। सरकारतिर हामी हेर्दै नहेरौँ। र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ,’ थापाले भने, ‘तलैबाट पार्टीको एकता पनि गरौँ। हार्दिकता पनि बनाऔँ। धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यी कुराहरूलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ। त्यस्तो तागत भएको पार्टी नेपाली कांग्रेसलाई बनाउनु पर्छ।’

‘म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै छाडिदिन आग्रह गरे।

‘यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ। म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ। यो उहाँहरूकै जिम्मा हो। यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार