टिपरले ठक्कर दिँदा स्कुटरमा सवार बोहोराको मृत्यु, छोरा गम्भीर घाइते

२०८१ असार १७, सोमबार

मोरङ : सोमबार साँझ टिपरले स्कुटरलाई ठक्कर दिँदा मोरङको उर्लाबारीमा एक जना महिलाको मृत्यु भएको छ। दुर्घटनामा ती महिलाका ९ वर्षका छोरा घाइते भएका छन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार स्कुटरमा सवार उर्लाबारी–६ की २७ वर्षीया सीता बोहोराको उपचारका क्रममा मृत्यु भएको हो। उनका छोरा प्रशान्त घाइते भएका छन्। ‘तीव्र गतिमा रहेको टिपरको ठक्करबाट घाइते बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा साँझ साढे सात बजे निधन भयो,’ उनले भने, ‘उहाँ तरकारी किन्न छोरालाई स्कुटरमा पछाडि राखेर निस्किनुभएको रहेछ।’

प्रशान्तलाई अहिले विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ। प्रहरीका अनुसार यो घटना साँझ पौने सात बजेतिरको हो। उर्लाबारी-मधुमल्ला सडकमा मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ क १०९० नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

टिपर चालक मोरङको मिक्लाजुङ–३ का ४२ वर्षीय लालबहादुर लिम्बू र टिपर अहिले प्रहरी नियन्त्रणमा छन्। घटनापछि उर्लाबारीमा स्थानीयले प्रहरी कार्यालयअघि प्रदर्शन गरेका छन्। उनीहरूले ढुंगामुढा र सडकमा टायर बालेर विरोध गरेको प्रहरी भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार