
काठमाडौँ : स्लोभेनियालाई टाइब्रेकरमा हराउँदै पोर्चुगल युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा स्लोभेनियालाई टाइब्रेकरमा ३–० गोलअन्तरले जित्दै पोर्चुगल अन्तिम ८ मा पुगेको हो। निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा खेल टाइब्रेकरसम्म पुगेको थियो।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा गोलरक्षक डियगो कोस्टाले तीन पेनाल्टी जोगाउँदा पोचुर्गल नाटकीय रूपमा क्वार्टरफाइनलमा पुगेको हो। टाइब्रेकरमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गरे।
क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्स खेल्नेछन्। गएराति नै भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।खेलको ८५औँ मिनेटमा पाएको उपहार गोलमै फ्रान्सले अन्तिम ८ को यात्रा तय गरेको हो।
प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा मंगलबार राति रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेल्नेछन्।