
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेताहरूसँग यसबारे चासो राखेका छन्।
प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि फोन गरेर पछिल्लो घटनाक्रमका बारेमा बुझेका थिए।जबाफमा देउवाले एमालेलाई प्रधानमन्त्री दिने सहमतिपत्रमा हस्ताक्षर भइसकेको बताए। ‘मैले ढाँट्न जान्दिनँ। एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरा भएको छ,’ देउवाको जबाफ उद्धृत गर्दै प्रचण्डले भने, ‘अब तपाईंसँग छलफल गर्ने विषय छैन।’
एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने निर्णय भएको छ। प्रधानमन्त्री संसदबाट विश्वास मत लिने पक्षमा देखिएका छन्। सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
बैठकपछि पार्टीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।