
काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको मूल्य बढाएको हो ।
नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ। यसैगरी न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो । आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । अर्थात उपभोक्ता मूल्य भन्दा थोक मूल्य ३–३ रुपैयाँ सस्तो रहेको छ ।
साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउने भएको हो ।साल्ट ट्रेडिङले नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ।