डोल्पाबाट छुटेको यात्रु बस छलगाड खोलामा फस्यो, ३४ यात्रु सकुशल

२०८१ असार १८, मंगलवार

डोल्पा : डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्रिकालीन बस मङ्गलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ५ ख १७९८ नम्बरको यात्रुवाहक बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाड खोलामा आएको बाढीमा फसेको हो ।

त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेशबहादुर सिंहका अनुसार ३४ जना यात्रु, खसीबोका र खाद्य सामग्री बोकेको बस खोलामा फसेको हो । गाडी खोलामा अड्किए लगत्तै प्रहरी र स्थानीय मिलेर सबै यात्रुहरुको सकुशल उद्धार गरेको उनले बताए । उनका अनुसार गाडीमा ३४ जना यात्रु रहेका थिए । गाडीको पछाडिको डिक्कीमा रहेको एउटा खसी, तीन बोरा दाल, छतमा रहेका ५० थान तरकारीका क्यारेट र यात्रुका केही झोला भने खोलाले बगाएको उनले बताए ।

सुरुमा पानीको बहाव कम भएकोले चालकले खोलामा गाडी हालेको तर माथिल्लो लेकतर्फबाट एक्कासि ढुङ्गा, माटोसहितको बाढी आउँदा गाडी फसेको उनको जनाए । खोलामा पानीको बहाव धेरै भएकोले गाडीलाई बगाउनबाट जोगाउन बलियो डोरीले खोला किनारको ढुङ्गामा बाँधिएको समेत सिंहले जानकारी दिए ।

उक्त स्थानमा सोमबार पनि सोही गाडी फसेको थियो । जेसिबीको प्रयोग मार्फत तानिएको गाडी नेपालगन्जतर्फ यात्रु लिएर फर्कँदै गर्दा फसेको हो । मंगलबार रातभर गाडी खोलामै रहने र पानीको बहाव कम भएमा जेसिबी प्रयोग गरेर निकालिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार