
काठमाडौं : नेकपा (माओवादी केन्द्र) करिब ९ वर्षपछि प्रतिपक्षमा पुग्ने निश्चित भएको छ ।
सोमबार मध्यराति कांग्रेस र एमाले मिलेर सत्ता समीकरण फेरबदल गर्ने निर्णय गरेपछि माओवादी प्रतिपक्षमा पुग्ने परिस्थिति बनेको हो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले सर्मनाक हार व्यहोरेपछि २०७२ असोजसम्म माओवादी प्रमुख प्रतिपक्षमा बसेको थियो । त्यतिबेला कांग्रेस र एमालेसहितका दलले सरकार बनाएका थिए भने कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएका थिए ।
यस्तै २०७७ साल पुस ५ गते एमालेका अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले संसद् विघटन गरेपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सर्वोच्च अदालतले २०७७ फागुन २३ गते विघटन गरी साबिक एमाले र माओवादी अस्तित्वमा आएका थिए । तर संसदमा दोस्रो ठुलो दल कांग्रेस भएकाले माओवादीले प्रमुख प्रतिपक्षको भूमिकाबाट वञ्चित भएको थियो ।