ललितपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई बयानका लागि पत्र काटेको छ। बाढी पहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको उजुरीमा बयान दिन भन्दै अख्तियारले पत्र पठाएको हो ।
मेयर महर्जनले पनि अख्तियारबाट पत्र आएको स्वीकार गरे । मेयर महर्जनलाई सोधपुछका लागि आफ्नो कार्यालयमा आउनु भनी पत्रमा भनिएको छ । ‘अख्तियारले अघिल्लो कार्यकालमा वितरण गरेको रकममा अनियमितता देखिएको भनी पत्र लेखेको छ । अख्तियारले नै बोलाएपछि जवाफ दिन जान पर्ला ’ मेयरले भने ‘ दुरुपयोग गरी अनियमितता गरेको छैन । जवाफ दिएर आउँछु ।’
सबै कुरा सार्वजनिक सञ्चार माध्यममा आइसकेको उनले बताए । उनी दोस्रो पटक नेपाली कांग्रेसबाट मेयरको रूपमा निर्वाचित भएका थिए ।
२०७७ सालमा धापाखेलमा बाढी पहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको अख्तियारको पत्रमा उल्लेख छ। बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा अतिक्रमण भएको भन्दै अख्तियारकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो।