राई नेतृत्वको जसपाको नयाँ गठबन्धनलाई समर्थन, मन्त्रीहरूलाई राजीनामा गर्न लगाउने

२०८१ असार २०, बिहीबार

काठमाडौँ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने भएको छ। वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।

प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए। महासचिव राईले रासससँग भनेका छन्, ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरूप पार्टी अगाडि बढ्ने छ। पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ।’

जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ। जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। जसपाबाट प्रमोद यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातारण मन्त्री तथा हसिना खान स्वास्थ्य राज्यमन्त्री छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार