
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिने हो भने चाँडै गर्नुपर्ने सल्लाह दिएको छ। प्रधानमन्त्री प्रचण्डले आफूले राजीनामा नदिने र संवैधानिक अधिकारको प्रयोग गर्दै विश्वासको मत सामना गर्ने भनेपछि रास्वपाले चाँडै गर्न सल्लाह दिएको हो।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री बुधबारदेखि अल्पमतमा परिसकेका छन्। एमालेका ८ जना मन्त्रीले पनि बुधबार नै राजीनामा गरिसकेका छन्। सत्ता साझेदार दलले साथ छाडे ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। रास्वपाले ३० दिन कुर्न नहुने स्पष्ट धारणा प्रधानमन्त्री समक्ष राखेको छ।
बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका चारै जना मन्त्री प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटार पुगेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले राजीनामाका लागि हतार नगर्न भनेपछि त्यसै फर्किएका थिए। छलफलमा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार पनि सामेल थिए।
बैठकबाट बाहिरिने क्रममा परियारले भने, ‘प्रधामन्त्रीले म विश्वासको मत लिन्छु। सदनलाई फेस गर्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्छु भन्नुभयो। अहिले राजीनामा नगरिदिनुहोस् भन्नुभयो’, उनले प्रधानमन्त्रीको भनाइ सुनाउँदै भने, ‘हामीले तपाईंको संवैधानिक अधिकारको सम्मान गर्छौं। त्यसो हो भने तपाईं चाँडै गर्नुहोस् भनेर भन्यौँ। उहाँले विश्वासको मत चाँडै लिनुपर्यो। हामी त्यतिबेलासम्म उहाँलाई साथ दिन्छौँ।’ कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आह्वान गरिसकेका छन्।