
काठमाडौँ : कारोबारको अन्तिम दिने सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ। साताभर उथलपुथल बनेको नेप्से सूचक बिहीबार भने १५.४६ अंकले बढ्दा २११९.६९ अंकमा पुगेर बन्द भएको हो। मंगलबार अधिकतम १०८ अंकको उचाइसँगै तरंगित बनेको सेयरबजार बुधबार र बिहीबार भने संयमित बनेको हो। लगानीकर्ताले संयमित भएर सेयर कारोबार गरेका हुन्।
बुधबार ३ अंकले बढेको सूचक बिहीबार १५.४६ अंकले बढेको हो। बिहीबार संयम अपनाउँदै लगानीकर्ताले सेयर खरिदलाई बढाउँदा ६ अर्ब ४८ करोड रुपैयाँको कारोबार गरे। बुधबार ५ अर्ब ८ करोड रुपैयाँ मात्रैको कारोबार भएको थियो। प्राय: साताभर खरिदमा जोड दिने र अन्तिम दिन नाफा बुक गरेर निस्किने लगानीकर्ताको प्रवृत्ति भने बिहीबार फरक देखियो। बिहीबार लगानीकर्ताले बिक्रीको सट्टा खरिदमा जोड दिँदा कारोबार रकम बढ्न पुगेको हो।
समग्रमा आजको बजारमा १४८ वटा कम्पनीले सेयर मूल्य बढाउँदा ९३ वटा कम्पनीको भने मूल्य घटेको छ। बढ्नेमा आज आँखुखोला जलविद्युत् कम्पनी अगाडि छ। यो कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा समाज लघुवित्त पनि सर्किट लेभलमै बढेको छ। यस्तै आज लगानीकर्ताले एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयरमा सबैभन्दा धेरै कारोबार गरे। बुधबार पनि यही कम्पनीमा सर्वाधिक कारोबार गरेका थिए। लगानीकर्ताले बिहीबार पनि कम्पनीको ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका हुन्।
यो हप्ताभर नै बैंकिङ समूहले बजार लिड गरेको छ। हप्ताभर बैंकिङ समूहको उपसूचक हरियो बन्यो। बिहीबार पनि यो समूहको ०.४८ प्रतिशतले सूचक बढेको छ। योबाहेक यो फाइनान्स समूहले सूचक बढाए पनि आज भने सूचकमा सामान्य करेक्सन देखिएको छ। बिहीबार फाइनान्स ०.५९ प्रतिशत र उत्पादनमूलक क्षेत्रको ०.१५ प्रतिशतले उपसूचक घट्दा बाँकी सबै समूहको उपसूचक बढेर हरियो छ।
समग्रमा यो हप्ता सेयरबजार राजीनितिक परिवर्तनको प्रभावमा रहन पुग्यो। एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने समाचार बाहिरिएसँगै नेप्से सूचकमा एकैदिन दुई पटकसम्म सकारात्मक सर्किट लाग्यो भने त्यसपछिको कारोबार दिनमा लगानीकर्ता संयमित बन्दा नेप्सेमा सामान्य अंकको वृद्धि देखियो। साताको पहिलो दिन नेप्से सूचक घटेर राताम्मे बनेको बजारले राजनीतिक परिवर्तनको सूचना पाएसँगै वृद्धिको बाटो लिएको हो।