काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत पाएका छन्। गत जेठ २५ गतेमात्रै नेकपा एमाले र माओवादी केन्द्रसहितका दलको सहयोगमा मुख्यमन्त्री बनेका सिंहले गठबन्धन फेरेर विश्वासको मत लिएका हुन्।
उनको पक्षमा ६७ मत र विपक्षमा ३४ मत प्राप्त भएको छ।मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सिंहले असार २१ गतेका लागि विश्वासको मत लिनका लागि गत असार १४ गते नै प्रदेशसभामा पत्र दर्ता गराएका थिए।
यसैबीच नेकपा एमालेले कांग्रेससँगको गठबन्धन गरेर अघि बढ्ने समझदारी केन्द्रमा गर्यो। केन्द्रको सत्ता गठबन्धनमा परिवर्तन आएसँगै उनलाई नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मतका लागि सहयोग गर्ने भएका छन्।
मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ सांसद छन्। मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनता समाजवादी पार्टीका १९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सर्मथन गरेको भए पनि जनमत पार्टी सरकारमा भने सहभागी भएको थिएन।





