काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता समीकरण फेरबदल हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका प्रतिबद्धताबारे चर्चा गरेका छन्।
देउवासँग सहमतिमा हस्ताक्षर गर्नुअघि दिउँसो बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लगातार ४ घण्टासम्म छलफल गरेर विभिन्न प्रतिवद्धता ओलीले गरेको उनको भनाइ छ। ‘जुनदिन केपी ओली र शेरबहादुरजीको हस्ताक्षर भएको थियो। त्यो दिन दिउँसो ४ घण्टा लामो पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीबीच कुरा भयो, नेपालले भने।
उनका अनुसार, सोही दिन ओलीले प्रचण्डलाई स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेको बताए। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीकोे भनाइ उद्रद्धृत गर्दै उनले भने, ‘हामी स्वर्ग पनि सँगै जान्छौँ, नर्क पनि सँगै जान्छौँ। ५ वर्षसम्म यो सरकार यताउता हुनेवाला छैन। प्रचण्डजी ढुक्क हुनुभयो। भोक लागेको भए त्यो पनि मर्यो होला।’





