काठमाडौँ : भक्तपुरको बालकोटस्थित आफ्नो निवासका सुरक्षा प्रमुखको आकस्मिक मृत्युले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्तब्ध भएका छन्।
ओली निवासको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको गएराति निधन भएको हो। प्रहरीका अनुसार भक्तपुरको गुन्डुस्थित आफ्नै घरमा सुतिरहेका बेला हृदयाघात भएपछि उनलाई भक्तपुर अस्पताल पुर्याइएको थियो। तर लानासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको बताइएको छ।
‘धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार। सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ’, एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा इन्स्पेक्टर थापाको तस्बिर राख्दै लेखेका छन्, ‘हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु।’






