ओलीलाई नचिनेको त होइन तर यसरी धोका दिन्छन् भन्ने थिएन : प्रचण्ड

२०८१ असार २६, बुधबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई भ्रममा पारेको बताएका छन्। बुधबार पार्टी संसदीय दलको बैठकलाई  सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे सिलसिलेबार रूपमा जानकारी गराएका छन्।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो प्रकरणबाट एमाले अध्यक्ष ओलीबारेको ठूलो भ्रम चिरिएको बताएका छन्। ‘ठूलो भ्रम साफ भयो,’ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेहरूले कांग्रेससँग मिल्नेलाई दक्षिणपन्थी भन्थे। त्यसकारण हामीलाई राजनीतिक रूपमा नोक्सानी भएको छैन।’ उनले वामपन्थीहरूलाई एकतावद्ध बनाउने उद्देश्यले नै आफूहरू एमालेसँग मिलेको भएता पनि एमाले अध्यक्ष ओलीले झुक्याएको बताए।

‘केपी ओलीलाई नबुझेका त थिएनौं तर मान्छे हो। हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्‍यो,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने,‘यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन।’ उनले १७ गते एमाले अध्यक्ष ओलीसँग भएको भेटमा प्रधानमन्त्री चाहिए आजै छाडिदिन्छु वामपन्थी गठबन्धन कायम राखौं भनेको ब्रिफिङ सांसदहरूसमक्ष गरेका छन्।

‘तर केपीले एक घण्टा नेपाली कांग्रेसको भण्डाफोर गरे। अपराधीसम्म भने,’ उनले भने, ‘त्यसपछि ०८४ सम्मसँगै जाने र पार्टी एकता गर्ने कुरा ओलीले नै गरेका थिए। धोका दिए।’ त्यसबेला ओलीले नै ‘स्वर्ग गए पनि सँगै जाने नर्क गए पनि सँगै’ जाने भनेपछि आफू ढुक्क भएको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका थिए। १८ गते बिहानसमेत एमाले अध्यक्ष ओलीले केही पनि भएको छैन भनेर झूट बोलेको प्रचण्डले बताए।

‘१८ गते बिहान भेट हुँदा पनि केही भएको छैन भन्छन्। मैले फोटो नै देखाएँ। ओलीले पुरानो फोटो हो भनेर झूट बोले। मैले प्रधानमन्त्री चाहिए लिनूस् यो खेल छोडिदिनूस् भनेको पनि थिएँ। तर केपीले केही हैन कि हैन भने,’ उनले भने, ‘पछि शेरबहादुरलाई फोन गर्दा पो सबै सहमति भइसक्यो भन्छन्।’

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शर्णार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले र कांग्रेस मिलेको आरोप पनि लगाएका छन्। ‘बेचन झा प्रकाउ परेपछि यो परिस्थिति बनेको हो,’ उनले भने, ‘तयारी विनोद चौधरीको घरमा भयो। सम्झौता रामेश्वर थापाको घरमा भयो। यो भ्रष्टहरूको गठबन्धन हो।’

उनले राष्ट्रिय सहमतिको सरकारको कुरा गरिए पनि त्यो सम्भव नभएको भन्दै जाली  कुरा भएको बताएका छन्। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस एमालेको गठबन्धनमा सहभागी नहुने प्रचण्डको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार