सञ्चो नभएको भन्दै बेचन झा ले बयान दिन लगातार इन्कार

२०८१ असार २७, बिहीबार

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो सयम पक्राउ परेका बेचन झा माथि प्रहरीले अनुसन्धान जारी राखेको छ । भारतबाट पक्राउ गरेर १४ असारमा काठमाडौं ल्याइएका झा माथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान जारी राखेको हो ।

तर, पक्राउ परेको दुई साता पूरा हुँदासमेत झा ले प्रहरीलाई बयान दिन नै इन्कार गरिरहेका छन् । यो बीचमा प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न दुईपटक जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार झालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पुर्‍याउनु र फिर्ता ल्याउनुबाहेक अन्य काम नभएको बताए ।

ती अधिकारीले भने, “झा बयान नै लेखाउन मानिरहेका छैनन् । बयान लिने बेला कहिले आँखा देख्दिन भनेर टार्छन् । कहिले सञ्चो छैन भनेर बयान दिन मानिरहेका छैनन् ।” जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले पनि बेचन झाले स्वास्थको कारण देखाउँदा बयानमा ढिलाई भएको बताए ।

झाविरुद्ध प्रहरीले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध गरी तीनवटा मुद्दामा अनुसन्धान थालेको छ । झा नक्कली भुटानी प्रकरणको अनुसन्धान थालेको एकवर्ष पछि पक्राउ परेका हुन् । शरणार्थी प्रकरणमा पक्राउ परेर हाल उच्च अदालतको आदेशले छुटेका रामशरण केसीसँग उनको कनेक्सन देखिएपछि उनी अनुुसन्धानको घेरामा परेका हुन् ।

प्रहरीले केसीको साथबाट झा कै नामका काटिएको दुई करोडको चेक समेत बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार