रुकुम : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा बाढीले घर बगाउँदा घरमै च्यापिएर ३ जनाको मृत्यु भएको छ। अन्य १ जना बेपत्ता भएका छन्।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार नगरपालिकाको वडा नम्बर १० र १२ को सीमा नजिकै झिन्चौरस्थित गिजा खोलामा आएको बाढीले खेतबारीसँगै ६ वटा घर बगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले उक्त घटनामा ५ जना घाइते भएको र मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको बताए।
उनले बाढीले घर बगाउँदा घरमै च्यापिएर ३ जनाको मृत्यु भएको भन्दै बेपत्ताको खोजी कार्य जारी रहेको बताए। उनले घटनास्थलमा नेपाली सेना र शसस्त्र प्रहरीसहित ११ जनाको टोली खटिएको जानकारी समेत दिए। साथै प्रमुख जिल्ला अधिकारीको नेतृत्त्वमा जिल्लाका सुरक्षा निकायसहितको टोलीपनि घटनास्थल तर्फ रवाना भएको उनले बताए।
घटनामा परी घाइते भएकाहरूको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ।





