महोत्तरीमा ट्याक्टर दुर्घटना, २७ जना घाइते

२०८१ श्रावण ४, शुक्रबार

महोत्तरी : महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन्। मुस्लिमको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न उनीहरू ट्याक्टरमा त्यसतर्फ गइरहेका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीबार दिउँसो करिब ४ बजे जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट ज १ त८०४४ नम्बरको ट्याक्टरमा २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न गइरहेका थिए।

सोही क्रममा जलेश्वर नगरपालिका–९ स्थित परिकौली चौक नजिकै ट्याक्टर दुर्घटना भएको हो। चालकले तीव्र गतिमा ट्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ। घटनापछि चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार