काठमाडौँ : भुटानको थिम्पुमा सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई आठ स्वर्ण प्राप्त भएको छ।
प्रतियोगिताको पहिलो दिन सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर, महिला २१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए।
सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङ्गीले जानकारी गराए। एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतका खेलाडीलाई पराजित गरेकी थिइन्। स्वर्णिमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतका खेलाडीलाई पराजित गरेका थिए।
त्यसैगरी सन्जुले फाइनलमा भुटानका खेलाडीलाई पराजित गरिन् भने रेहानले भारतीय खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए।
जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतीय खेलाडीसँग पराजित हुन पुगे। जुनियरतर्फ महिला एकल काताको फाइनलमा श्रीलंकाली खेलाडीसँग पराजित हुँदै नेपालकी रेनिशा रिमालले रजत पदकमा चित्त बुझाइन्। यसअघि प्रतियोगिताको उद्घाटन भुटानका राजकुमार टासु जिगेलले एक विशेष समारोहबीच गरेका थिए।
भुटानसहित नेपाल, भारत र श्रीलंका सहभागी उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङलगायत सहभागी थिए।