काठमाडौँ : साउदी अरबमा कार्यरत एकजना नेपाली नर्सले आत्महत्या गरेकी छिन्। साउदी अरबको पूर्वीक्षेत्र कथिपको अल बदर अस्पतालमा कार्यरत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ९ घर भएकी गीता देउजाले आत्महत्या गरेको नेपाली दूतावास रियादले जनाएको छ।
आत्महत्या गरेकी देउजाले सुसाइट नोट लेखेकी छिन्। आफ्नै कारणले आत्महत्या गर्न लागेको र अरू कसैको कारण नभएको उल्लेख गरिएको जनप्रगतिशील मञ्च साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्लेले जानकारी दिए। उनका अनुसार शव नेपाल नपठाउन सुसाइड नोटमा आग्रह गरिएको छ। अहिले साउदी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको नेपाली दूतावासले जनाएको छ।
मृतक देउजा करिब एक वर्षअघि साउदी अरब पुगेकी थिइन्। उनकी दिदी लक्ष्मी देउजा पनि नर्सकै रूपमा त्यही अस्पतालमा कार्यरत छिन्।





