तीन दिनदेखि यातायात कार्यालयको सेवा प्रभावित

२०८१ श्रावण ८, मंगलवार

काठमाडाैं : काभ्रेपलाञ्चोकको साँगाबाट कल्पना कार्की बिहान ७ बजे यातायात व्यवस्था कार्यालय भक्तपुरमा आइपुगिन् । विगत तीन दिनदेखि कार्यालयमा धाएकी उनले आज पनि सेवा नपाइ फर्कनुपर्‍यो ।

केही दिनयता सर्भरमा समस्या आएको भन्दै देशभरका यातायात कार्यालयमा सेवा प्रवाह रोकिएपछि सेवाग्राही निकै प्रभावित बनेका छन् । तीमध्येकी कल्पना एक उदाहरण मात्रै हुन् । कार्यालयमा सेवा लिन बिहानैदेखि भीड लाग्ने र सेवा नपाएर फर्कने उनीजस्ता धेरै नागरिक छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभाग, केन्द्रीय डाटा सेन्टरमा समस्या आएको भन्दै गत आइतबारदेखि नै सेवा प्रभावित भइरहेको छ ।

यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख दण्डबहादुर बस्नेतले गत आइतबारदेखि नै सर्र्भरमा समस्या आएको बताए । उनले भने, “आइतबारदेखि बुधबारसम्म सर्भर कहिले आउने र कहिले जाने भइरहेको छ, आउँदा पनि निकै ढिलो थियो तर बिहीबारदेखि सोमबारसम्म त बन्द नै भयो, आज बेलाबेला चल्ने र नचल्ने समस्या भयो ।”

उनले यस्तो समस्या भक्तपुरमा मात्र नभई देशभरका यातायात कार्यालयमा देखिएको बताए । यातायात कार्यालयअन्तर्गत सम्पूर्ण डाटा एवं अनलाइन प्रणाली आन्तरिक रूपमा विभागमार्फत नियन्त्रण तथा सञ्चालन हुँदै आएकाले यस सन्दर्भमा अनुरोध गर्नेबाहेक कार्यालयको भूमिका नहुने बस्नेतको धारणा छ ।

सर्भरमा समस्या हुँदा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षासमेत प्रभावित हुने गरेको छ ।  कार्यालय प्रमुख बस्नेतकानुसार यस्तो समस्याले आइतबार हुने परीक्षालाई बिहीबार र सोमबार हुनेलाई शुक्रबार गर्दै पछाडि धकेल्दा सेवा खप्टिदै गएको छ । यस्तो हुँदा बिचौलिया प्रवृत्ति मौलाइरहेको सेवाग्राहीको आरोप छ । सेवाग्राही रामशरण महतले आफू तीन दिनदेखि कार्यालय धाउँदा पनि उस्तै समस्या दोहोरिएको तर बिचौलियाले भने पैसा दिएमा काम गरिदिन्छौँ भनेर प्रलोभन देखाउने गरेको गुनासो गरे ।

सङ्घीय यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले प्राविधिक समस्याका कारण सर्भरमा समस्या भएको जानकारी दिए । उनले प्राविधिक खटाएर समस्या समाधानको प्रयास भइरहेको बताए ।  उनले थप विज्ञ प्राविधिक ल्याएर समस्याको दीर्घकालिन समाधान गर्ने प्रयास गरिने सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार