जहाज दुर्घटना : शवहरु त्रिवि शिक्षण अस्पतालमा, पोष्टमार्टमको लागि मुचुल्का गरिँदै

२०८१ श्रावण ९, बुधबार

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमार्टमको तयारी सुरु भएको छ । पोष्टमार्टमका लागि मृतक सबैको शव त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ भने अहिले आवश्यक कागजपत्र मिलाउने काम भइरहेको छ ।

नेपाल प्रहरीको महाराजगञ्ज वृत्तका डिएसपी अमर थापाले जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शवको मुचुल्का भइरहेको बताए । ‘पोष्टमार्टम गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया अघि बढाइएको छ । मुचुल्का भइरहेको छ, यो कागजी कामहरु सकिने बित्तिकै पोष्टमार्टम सुरु हुन्छ,’ डिएसपी थापाले भने ।

अस्पतालका निर्देशक डा दिनेश काफ्लेका अनुसार पोष्टमार्टमका लागि अस्पतालको जनशक्ति तयारी अवस्थामा रहेको छ । ‘पोष्टमार्टमका लागि सबै चिकित्सकहरु तयारी अवस्थामा छौँ । कागजपत्र मिलाउने काम भइरहेको छ,’ निर्देशक काफ्लेले भने, ‘पोष्टमार्टमका लागि प्रहरीबाट मुचुल्का आउनु पर्छ । आफन्तहरु पनि आउनुपर्छ । त्यसपश्चात पोष्टमार्टम सुरु गर्छौँ ।’

जलेर मृत्यु भएका कारण शवहरुको पोष्टमार्टम दिनमा मात्रै गर्न सकिने उनले बताए । ‘शव चिनिने अवस्था छैन । हामीले दाँत हेरेर पहिचान गर्नुपर्छ । नभए सबैको डिएनए नै परीक्षण गर्नुपर्ने हुन्छ,’ उनले भने । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज विमानस्थल परिसरमै दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको छ भने विमान चालकको उद्धार गरी उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार