
काठमाडौं : बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एरलाइन्सको विमान दुर्घटनामा पर्यो। पोखराका लागि उडेको उक्त जहाज रनवे छोडेको केही सेकेन्डमा नै पुनः जमिनमा बजारिन पुग्यो। जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको थियो।
नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज काठमाडौंबाट बिहान ११ः११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रन वेको पूर्वतिर रहेको खाली ठाउँनमा दुर्घटना भयो। जहाज त्रिभुवन विमानस्थलको परिसर भित्रै बजारिन पुगेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार, विमान दुर्घटना हुनासाथ अग्नि नियन्त्रण तथा खोज तथा उद्धारका लागि विमानस्थबाट दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको टोली दुर्घटनास्थल पुगेको थियो।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो। बिहान ११ः१५ मा दुर्घटनको खबर पाएको प्रहरीले ११ः३४ मा क्याप्टेन ३७ वर्षीय मनिष शाक्यलाई सकुशल उद्धार गर्न सफल भएको थियो। उद्धार लगत्तै प्रहरीले उनलाई उपचारका लागि विमानस्थलको सबैभन्दा नजिक रहेको काठमाडौं मेडिकल कलेज पठाएको थियो। शरिर पनि नजलेको अवस्थामा उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा थिए। समयमै आगो नियन्त्रण गर्न नसक्दा क्याम्टेन शाक्यबाहेक अन्यको जीवितै उद्धार गर्न नसकिएको देखिन्छ।
दुर्घटनामा १८ जनाले ज्यान गुमाए। क्याप्टेन (पाइलट) मनिषरत्न शाक्यको उपचार भइरहेको छ। मृत्यु हुनेमा एक जना यमन नागरिक रहेको प्रहरीले जनाएको छ। सो घटनामा १० वर्षका बालकसहित १७ जना पुरुष र एक जना महिलाको मृत्यु भयो।