लुम्बिनीमा रेशमलाई श्रीमती रञ्जिताको धक्का

२०८१ श्रावण ११, शुक्रबार

काठमाडौं : विवादमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का रेशम चौधरीलाई लुम्बिनी प्रदेशमा धक्का लागेको छ । चौधरीले लुम्बिनीको संसदीय दलको नेता फेरेर मन्त्री बनाउने पहललाई प्रदेशसभाले रोकेसँगै धक्का लागेको हो ।

नाउपाले संसदीय दलको नेता फेरेको जनाए पनि प्रदेशसभाले मान्यता नदिएपछि रेशमलाई धक्का पुगेको छ । प्रदेशसभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्म बहादुर चौधरी नाउपाको संसदीय दलको नेता रहेका छन् ।

दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् । यसअघि संसदीय दलको नेताबाट धर्म बहादुरलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरणसहितको पत्र गत ७ गते प्रदेशसभामा पेश गरिएको थियो ।

बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको जानकारी प्रदेश सभालाई दिइएको थियो । लुम्बिनीमा नाउपाका चार जना सांसद छन् ।

संसदीय दलको नेताबाट हटाइएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् । श्रीमान-श्रीमती रहेका रेशम र रञ्जिताबीचको विवादले नाउपा केन्द्रदेखि प्रदेशसम्म दुई भागमा विभाजित भएको छ ।

योसँगै लुम्बिनीमा राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको तयारीमा धक्का लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार