
काठमाडाैं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध कदम चालेकै आधारमा आफू नेतृत्वको सरकारलाई ढालिएको आरोप लगाएका छन् ।
पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको केन्द्रीय पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।सरकारले राम्रो पहलकदमी लिँदालिँदै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सत्ता समीकरण परिवर्तन गरेको भन्दै बैठकमा माओवादी नेताहरूले आक्रोश पोखेका थिए । यद्यपि बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने सत्ता गुमाए पनि माओवादीलाई जनतासँग जाने ऐतिहासिक अवसर आएको बताए ।
बैठकमा प्रवक्ता सापकोटासँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राम कार्की, हितराज पाण्डे र वर्षमान पुनले आफ्नो धारणा राखेका थिए । फेरिएको राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको भन्दै सापकोटाले केन्द्रीय कार्यालय बैठकका बाँकी १६ जनाले पनि बोलेपछि स्थायी कमिटी बैठकले आगामी मार्गचित्र ल्याउने जानकारी दिए । सोही बैठकले पार्टी शुद्धीकरणको कार्यक्रमलाई जोड दिने पनि उनले बताए ।
शुक्रवार शुरू भएको माओवादी केन्द्रको पदाधिकारी बैठक शनिवार पनि बस्नेछ ।