
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले सरकार कुम्भकर्ण झैँ सुतिरहेको टिप्पणी गर्दै जगाउन प्रभावकारी धक्का दिनुपर्ने बताएका छन्।
शनिबार पार्टीको एक कार्यक्रममा बोल्दै महामन्त्री राणाले सत्तासीन कुम्भकर्णलाई जगाउन राप्रपाले राजधानीमा अर्जुनदृष्टि कायम राखेको पनि बताएका छन्। ‘सरकार जनताका पीरमर्का बेवास्ता गरी कुम्भकर्णजस्तै मस्त सुतिरहेको छ,’ महामन्त्री राणाले भने, ‘प्रभावकारी धक्का दिन राप्रपा रणनीतिक रुपमा अघि बढेको छ। सशक्त युवा दस्ता र उपत्यकाकेन्द्रीत संगठन त्यसै लक्ष्यको माध्यम हो।’
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राणाले स्थानीय तहमा हुने बजेट दुरुपयोग र भ्रष्टाचारविरुद्ध कडा खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘स्थानीय तहको जगमा देश बन्ने हो, समाज बन्ने हो। त्यसैले नगरपालिका र वडा तहमा जनताको पक्षमा र भ्रष्ट मनोवृत्ति विरुद्धमा राप्रपाले खबरदारी गर्नुपर्दछ।’