कोशीमा एमाले-कांग्रेसबीच टुंगियो मन्त्रालय भागबन्डा

२०८१ श्रावण १३, आईतवार

विराटनगर : कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन्।

शुक्रबार नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर सरकार छाडेलगत्तै शनिबार काठमाडौंमा मुख्यमन्त्री हिक्मत कार्की र कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री उद्वव थापासहितका नेताहरुको छलफलले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो। कांग्रेस संसदीय दल नेता उद्वव थापाका अनुसार प्रदेश सरकारमा कांग्रेस र एमालेले ४/४ मन्त्रालय पाउने सहमति भएको छ।

कांग्रेसले माओवादीले छाडेको मन्त्रालय पाउनेछ। नेता थापाका अनुसार कांग्रेसले पाउने चारमध्ये तीन मन्त्रालय टुंगिसकेको छ। भौतिक पूर्वाधार, स्वास्थ्य र वन, वातावरण तथा पर्यटन मन्त्रालय कांग्रेसले पाउने छ। त्यस्तै मुख्यमन्त्री कार्कीले सामाजिक विकास र कृषिमध्ये एउटा मन्त्रालय कांग्रेसलाई छानेर लिन भनेका छन्।

९ सदस्यीय मन्त्रिपरिषदमा एमालेका तीन मन्त्री यसअघि नै सरकारमा छन्। कृषि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हालेका छन्। अब सरकारमा एमालेको मुख्यमन्त्रीसहित ५ र कांग्रेसको चार मन्त्री हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार