उदयपुर : उदयपुरमा मूल्यभन्दा कम परिमाणको ईन्धन बेच्ने पेप्ट्रोल पम्पमा प्रहरीले ताला लगाएको छ।
ईन्धनमा ठगी गरेको पाइएपछि त्रियुगा नगरपालिका-११ गाईघाटस्थित रियाज पेट्रोल पम्पमा प्रहरीले आइतबार बिहान ताला लगाएको हो।रियाजमा तेल किन्ने उपभोक्तालाई मूल्य अनुसार ईन्धन नदिने गरेको गुनासो बारम्बार आउन थालेपछि प्रहरीले अनुगमन गर्दा आरोप प्रमाणित भएपछि ताला लगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पम्पले गाडीको ट्याङ्कीमा तेल नझर्ने गरेर तेलको परिमाण र मूल्य चाहिँ मिटरमा देखिने गरी ठगी गरेको पाइएको हो।
‘यो पम्पमा कम परिमाणको तेल दिइन्छ,भन्ने दिनप्रति दिन गुनासा आउने गथेँ । केही दिनदेखि निगरानी गर्दै थियौँ, गुनासो मात्र हो कि साँच्चै हो भनेर आफैँ गएर परिक्षण गर्दा मेसिनको मिटर घुम्ने, तेल चाहिँ नझर्ने रहेछ। सो क्रममा तेल कम बेच्ने गरेको पुष्टि भएपछि ताला लगाइएको हो,’ नगर प्रहरी गाईघाटका ईञ्चार्ज सई गोपी कटुवालले भने।
आरोप प्रमाणित भएपछि पम्प सञ्चालक बैधनाथ साहलाई कम तेल बेचेको विषयमा स्पष्टिकरण लिन बोलाउँदा सम्पर्कमा नआएको प्रहरी सई कटुवालको भनाइ छ। २४ घण्टाभित्र सम्पर्कमा नआए कानुनी कारबाही अघि बढाइउने प्रहरीले जनाएको छ।





