गोरखा : गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका पाँचमध्ये चार जना मृत भेटिएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयले खोजी गर्ने क्रममा सोमबार तीन जना र आइतबार एक जनाको शव फेला पारेको हो। सोमबार जितबहादुर गुरूङ, उनका बुवा सुलालकान्छा र स्थानीय रमेश गुरूङको शव घरको आँगनबाट केही तल पुरिएको अवस्थामा फेला परेको हो। गण्डकी गाउँपालिकास्थित फिस्लिङमा भेटिएको महिलाको शव जितबहादुरकी श्रीमती कान्छीमाया गुरूङको भएको पहिचान भएकाले घटनास्थलमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परेर बेपत्ता भएका आरूघाटका रमेश परियारको खोजी जारी छ। आइतबार राति गएको पहिरोमा परेका सबै वाटर इनर्जी हाइड्रोमा कार्यरत कर्मचारी हुन्। पहिरोले एक घर र कृषि फर्ममा क्षति पुर्याएको थियो। पहिरोमा परेर घाइते भएका दिलीप गुरूङ र छामबहादुर गुरूङको भने हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको छ।





