मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिने छन् ।
साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व हत्याएका हुन् । साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ ।मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
सरकारलाई पूर्णता दिए लगत्तै मुख्यमन्त्री लामाले सरकार सुरक्षित गर्ने उद्देश्य अनुसार संसदबाट विश्वासको मत लिने निर्णय गरेका हुन् । उनको निर्णय अनुसार प्रदेशसभा बैठक आह्वानका लागि प्रदेशसभा सचिवालय हेटौँडामा पत्राचार गरेका थिए । सोही अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (मंगलबार)बा लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ ।
मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ८ जनालाई मन्त्री नियुक्त गरेका छन् ।





