सेयर कारोबारले रेकर्ड तोड्यो , एकै दिन २१ अर्ब ९१ करोडको किनबेच

२०८१ श्रावण १६, बुधबार

काठमाडौँ : सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ। यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो। सूचकमा देखिएको निरन्तरको वृद्धिसँगै कारोबार रकमले अहिलेसम्मकै रेकर्ड तोडेको हो।

बुधबार लगानीकर्ताले २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार गर्दा २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई उछिनेको हो।

अघिल्लो पटकको बुलमा अधिकतम २१ अर्ब ६१ करोडको कारोबारले रेकर्ड बनाउँदा नेप्से सूचक २७६० अंकमा पुगेको थियो। बुधबार नेप्से सूचक बढेर उत्साहित बनेका लगानीकर्ताले अन्तिम ४ मिनेटमा करिब १ अर्ब बराबरको कारोबार गरेका छन्। दिउँसो २ः५६ मा २१ अर्बको कारोबार गरेका लगानीकर्ताले ३ बजेसम्म २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार गरे।

बुधबार नेप्से सूचक ६४.२५ अंकले बढेर २७६०.९० अंकमा बजार बन्द हुँदा ३ सय ३२ वटा कम्पनीको ५ करोड कित्ता सेयर २१ अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको थियो। सूचक र कारोबारको वृद्धिले ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यी कम्पनीको सर्वाधिक कारोबार
बुधबार कारोबार रकम अहिलेसम्मकै उच्च हुँदा हिमालयन रिको सर्वाधिक ८४ करोड ४९ लाखको कारोबार भएको छ।

त्यसैगरी माउन्टेन इनर्जी नेपालको ४१ करोड, शिवम् सिमेन्टको ४० करोड, नेपाल फाइनान्सको ३८ करोड ९४ लाख र अपि पावरको ३७ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ।

यी कम्पनीको सेयर मूल्य क्रमशः ७४५.९०, ६९४.९०, ६६२, १९५८.९० र २५८.१० रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार