काठमाडाैं : सशस्त्र प्रहरी बलमा ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग भएकोमा लिखित परीक्षामा ७४ जना मात्र उत्तीर्ण भएका छन् ।
आरक्षण कोटामा मागभन्दा न्यून उत्तीर्ण भएका छन् । लिखित परीक्षामा खुला र आरक्षण कोटामा गरी कुल तीन सय सातजना सहभागी थिए ।लोकसेवा आयोगले बिहीबार प्रकाशित गरेको नतिजाअनुसार खुलातर्फ ५४ र आरक्षणतर्फ ४५ कोटा छुट्याइएको थियो । आरक्षणतर्फ पिछडिएको क्षेत्रबाहेक अन्य समूहमा मागभन्दा कम उत्तीर्ण भएका हुन् ।
आठ महिला माग भएकोमा चारजना मात्रै उत्तीर्ण भएका छन् । दलित समुदायका लागि सात कोटा छुट्याइएकोमा तीनजना मात्र उत्तीर्ण भएका छन् । आदिवासी जनजातितर्फ १३ मा नौ, मधेशीतर्फ ११ मा तीन र अमर तथा अशक्त प्रहरीका सन्तानका लागि छुट्याइएको चार कोटामा एकजना पनि उत्तीर्ण भएनन् । यसरी समावेशी कोटातर्फ रिक्त रहेका पदलाई पनि खुलातर्फ जोडेर लोकसेवा आयोगले नतिजा प्रकाशन गरेको छ । त्यति हुँदा पनि ७४ जना मात्र उत्तीर्ण भएका छन् । समावेशीतर्फ लिखित परीक्षामा सफल हुने सबैले खुलामा पनि नाम निकालेका थिए ।
एकातर्फ सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण कम हुँदा तुलनात्मक रूपमा आवेदन कम परेको र अर्काेतर्फ लोकसेवा आयोगको पाठ्यक्रम निकै कठिन रहेकाले पनि थोरै उत्तीर्ण भएको हुन सक्ने सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् । विगतदेखि नै समावेशी कोटामा मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् ।





