म आएपछि तीनपटक विद्युत् महसुल घटेको छ : कुलमान घिसिङ

२०८१ श्रावण २६, शनिबार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले हालसम्म २५ प्रतिशत महसुल घटाएको जनाएको छ ।

आठ वर्षको अवधिमा तीनपटक गरी करिब २५ प्रतिशत घटाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तीनपटक महसुलदर घटाए पनि प्राधिकरणको नाफा बढ्दै गएको उनले बताए ।

“प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमात्र कायम गरी ऊर्जा निःशुल्क छ,” उनले भने, “सिँचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमान्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुलदर कायम गरिएको छ । यसरी प्राधिकरणले नाफा कमाउन मात्र हैन, आफ्नो सामाजिक दायित्वलाई पनि उत्तिकै जिम्मेवारीका साथ पूरा गरिरहेको छ ।”

महसुल घटाए पनि सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको घिसिङले बताए । आर्थिक वर्ष २०७२/७३ मा एकैवर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहको प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड पुगेको उनको दाबी छ । “आर्थिक वर्ष ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा सुरु गरेको प्राधिकरणले त्यसयता फर्केर हेर्न परेको छैन,” उनले भने ।

आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको जनाए । आठ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत अहिले ९९ प्रतिशत पुगेकाे घिसिङले जानकारी दिए ।

आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्‌को ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको प्राधिकरणले जनाएको छ ।आठ वर्षअघि प्रतिवर्ष तीन अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको घिसिङले जानकारी दिए ।विगत आठ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रुपैयाँ पुँजिगत लगानी गर्न सक्षम भएको घिसिङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार