नेपाल प्रहरीमा ३० वर्षे सेवावधि हटाइँदै, को–को हुन्छन् विदा ?

२०८१ श्रावण २८, सोमबार

काठमाडौं : नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयले संघीय प्रहरी ऐन निर्माण प्रक्रिया तीब्र बनाएको छ ।

महिना दिनभित्र ऐनका लागि तयार विधेयक संसदमा पेस गर्ने तयारी रहेको गृह स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालय सम्हाले लगत्तै गृहमन्त्री रमेश लेखकले मातहत कार्यालयको ‘ब्रिफिङ’ लिने क्रममा अबको महिना दिनभित्र विधेयक संसदमा पेस गरिने बताएका थिए । विधेयकका विषयमा प्रहरी प्रधान कार्यालय नक्साल र गृह मन्त्रालयमा पटक–पटक दफवार छलफल भएका छन् ।

गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले संघीय प्रहरी ऐन निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढेको जानकारी दिएका छन् । उनले भने, ‘अबको महिना दिनभित्र विधेयक संसदमा पेस हुने गरी निर्माण प्रक्रिया अघि बढेको छ ।’ अब यस विषयमा कानुन मन्त्रालयको सहमति लिन बाँकी छ । गृहका अनुसार कानुन मन्त्रालयबाट स्वीकृत भएलगत्तै विधेयक मन्त्रिपरिषदमा पेस हुनेछ । मन्त्रिपरिषद् बैठकले पास गरेपछि विधेयक संसदमा पेस हुनेछ ।

संघीय प्रहरी ऐन बन्न नसक्दा संघ र प्रदेशबीच प्रहरी समायोजन हुन सकेको छैन । जब सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्न चार वर्षअघि नै ‘प्रहरी कर्मचारी समायोजन ऐन, २०७६’ निर्माण गरिसकेको छ । त्यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने सम्बन्ध (नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६) मा पनि चार वर्षअघि नै ऐन बनेको छ । सोही ऐनअनुसार प्रहरी समायोजन गर्न भन्दै सातै प्रदेशका मुख्यमन्त्रीले सरकारसँग पटक–पटक आग्रह गरेका छन् ।

नेपाल प्रहरीमा प्रहरी कर्मचारी सेवा अवधि, पदावधि र उमेर हद गरी तीन किसिमले सेवाबाट अवकाश हुँदै आएका छन् । जसमध्ये अधिकांश प्रहरी कर्मचारी ३० वर्षे सेवा अवधिका कारण पदावधि र उमेरहद बाँकी  छँदा अवकाशमा जानुपर्ने स्थिति छ । तर, अब सेवा अवधि हटाएर ऐन बनाउने गृहकार्य छ । त्यस्तो ऐन कार्यान्वयन हुँदा प्रहरी कर्मचारी अब उमेरहद र पदावधिका कारण मात्रै अवकाशमा जानेछन् ।

जसका लागि अहिले तीन वटा विकल्पमा छलफल चलिरहेको छ । पहिलो विकल्पमा आइजिपीको उमेरहद ६० र पदावधि तीन वर्ष राखिएको छ । त्यस्तै, एआइजीको उमेर ५९ र पदावधि चार वर्ष, डिआइजी उमेरहद ५९ र पदावधि चार वर्ष, एसएसपीको उमेरहद ५८ र पदावधि आठ वर्ष कायम गरिएको छ । बाँकी तहका प्रहरी कर्मचारी भने सबै उमेरहदका कारण अवकाशमा जानेछन् ।

त्यस्तै, विकल्प २ मा आइजिपीको उमेरहद ६० र पदावधि तीन वर्ष राखिएको छ । त्यस्तै, एआइजीको उमेर ५९ र पदावधि दुई वर्ष, डिआइजी उमेर हद ५९ र पदावधि पाँच वर्ष, एसएसपीको उमेरहद ५८ र पदावधि आठ वर्ष कायम गरिएको छ । बाँकी तहका प्रहरी कर्मचारी भने सबै उमेरहदका कारण अवकाशमा जानेछन् ।

उनीहरूको उमेरहद फरक–फरक कायम गरिएका छन् । विकल्प ३ अन्तर्गत आइजिपीको उमेरहद ६० र पदावधि तीन वर्ष नै राखिएको छ । त्यस्तै, एआइजीको उमेर ५९ र पदावधि चार वर्ष, डिआइजी उमेरहद ५९ र पदावधि पाँच वर्ष, एसएसपीको उमेरहद ५८ र पदावधि आठ वर्ष नै कायम गरिएको छ । बाँकी तहका प्रहरी कर्मचारी भने सबै उमेरहदका कारण अवकाशमा जानेछन् । उनीहरूको पनि उमेरहद फरक–फरक कायम गरिएका छन् ।

को–को हुन्छन् विदा ?
नेपाल प्रहरीमा ३० वर्षे सेवाहदका कारण डिआइजी विष्णु केसीसहित करिब सय जनाले आउँदो १५ भदौदेखि अवकाश पाउँदै छन् । यसमा १२ एसएसपी छन् । एसएसपीहरू जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मीले एकैदिन अवकाश पाउने छन् ।

त्यस्तै, ११ एसपीले पनि अवकाश पाउने छन् । कृष्ण प्रसाईं, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरि कोइराला, अवदेश विष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, नवीनकिशोर प्रधानले अवकाश पाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार