काठमाडौं : यो वर्षको दशैंको फूलपातीमा नेपाली र विदेशी फिल्मबीच चर्को भिडन्त हुने देखिएको छ । असोज २४ गते बक्स अफिसमा नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ भने दक्षिण भारतीय फिल्म र हलिउड फिल्म पनि प्रदर्शनमा आउने भएका छन् ।
यो मितिमा नेपाली फिल्महरु ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साब’ र ‘१२ गाउँ’ एकै दिन प्रदर्शन हुने भएका छन् । तमिल सिनेमामा बहुप्रतीक्षित फिल्ममध्ये एक ‘कंगुवा’ र हलिउडको चर्चित फिल्म ‘जोकर’को सिक्वेल ‘जोकर २’ आउने भएका हुन् । यी बाहेक बलिउड फिल्म ‘बदमाश रविकुमार’ पनि दशैंमा रिलिज हुँदैछ ।
‘जोकर २’को एक साता अघि नै प्रदर्शन मिति भएपनि नेपाल वितरण कम्पिनी एप्पल इन्टरटेन्मेन्टले फूलपातीमा रिलिज गर्ने गरी तयारी थालेको वुझिएको छ । अब, वितरकले ‘जोकर २’ र अर्को बलिउड फिल्म ‘बदमाश रविकुमार’लाई नेपाल भित्र्याउँछन् या भित्र्याउँदैनन् हेर्न बाँकी छ ।
यता, विशेषश्रोतका अनुसार दशैंमा ‘उनको स्विटर’ फिल्म रिलिज गर्ने तयारी पनि गरिएको छ तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छ । यसरी हेर्दा यसपटकको दशैंको फूलपातीमा बक्स अफिसमा चर्को भिडन्त हुने देखिन्छ ।





