भक्तपुर : गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घटनास्थलको सिसिटिभी फुटेज बाहिरिएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरचोकनजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा.३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ओखलढुंगा चिसंखुगढी गाउँपालिका‐ ४ छहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको ‘फुटेज’ बाहिरिएको हो । उक्त ‘फुटेज’ हेर्दा ट्रकचालक मुख्य दोषी रहेको पाइएको छ ।
घटनास्थलबाट फरार भएका ट्रकचालक सर्लाही मलंगवा नगरपालिका‐ २ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।





