ताल फुट्दा सोलुखुम्बु दूधकोशी क्षेत्रमा बाढीको खतरा

२०८१ भाद्र १, शनिबार

खोटाङ : जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशीको शिरमा रहेको ताल फुटेर भीषण बाढी आएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

दूधकोशी नदीको उपल्लो भागमा रहेको ताल फुटेर भीषण बाढी आएको जानकारी दिँदै प्रशासनले आसपासका क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह गरेको हो । प्रशासनले जरुरी सूचना जारी गर्दै दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । घटनाको मूल कारण अझै यकिन नभए पनि, हिमताल फुटेको वा हिमपहिरोको कारणले बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।

सोलुखुम्बु जिल्लाको थामे खोलाबाट सुरु भएको बाढी क्रमशः दूधकोशीतर्फ बढ्दै गएको छ, जसले खोटाङ र ओखलढुंगाको कोशीकिनारमा जोखिम बढाएको छ । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय खोटाङ, हलेसी तुवाचुङ नगरपालिका, ऐंसेलुखर्क गाउँपालिका र रावाबेंसी गाउँपालिकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

खोटाङ क्षेत्रमा बाढी आइपुग्न केही घण्टा लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए अनुसार, दूधकोशी आसपासका स्थानीयलाई सुरक्षित रहन सचेत गराउन प्रहरी परिचालन गरिएको छ । डीएसपी खड्काले दूधकोशी नदी र यसका तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई चनाखो रहन र सुरक्षित उपायहरू अपनाउन आग्रह गरेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले नगरपालिकाको १० नम्बर वडा अर्खौले र ७ नम्बर वडा हलेसी महादेवस्थानबाहेक नगरपालिकाका सबै वडा प्रभावित क्षेत्रमा पर्ने जानकारी दिँदै सम्पूर्ण नागरिकलाई सचेत रहन अपिल गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार