काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन् ।
पार्टी स्थायी समिति बैठकमा आफूले अबको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनी प्रश्न पनि गरे । शनिबार पार्टीको रुकुम–काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए । सोही कार्यक्रममा बोल्दै उनले अध्यक्ष दाहाललाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उपमहासचिव शर्माले अध्यक्ष दाहालतिर फर्कँदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताए । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रस्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टीकरण थियो । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गरे ।
उनले भने,‘जनवादी क्रान्तिको कार्यदिशामा दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो । उहाँले गरेर हामी जनयुद्धसम्म आईपुग्यौँ । यहाँसम्म हामीले गरेको आन्दोलनहरू, युद्धहरू, परिवर्तनहरू जो सहभागितामूलक, समावेशी लोकतन्त्र एउटा हामीले स्थापना गरेका छौँ । त्यसको संश्लेषण चाहिँदैन ? त्यसलाई एउटा वैचारिक रूपमा अघि बढाउनुपर्दैन ? त्यस अरू १००/२०० वर्षसम्म अगाडि बढ्नुपर्दैन ? मैले त प्रचण्डलाई अरू २ सय वर्ष बचाउने कुरा गर्दैछु । मेरो कुरा त्यो हो । अरू २ सय वर्षसम्म प्रचण्ड बाँचुन् त्यो उनको विचारले गाइड गरोस् भनेर मैले भनेको कुरालाई नेतृत्वका विरुद्ध आयो भनेर म माथि अनेक अत्याचारहरू गर्न प्रयत्न गरियो ।





