दोलखा : विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापूजा सम्पन्न गरेका छन्।
शनिवार दिउँसो करिब ३ बजे हेलिकप्टरबाट दोलखा सहर ओर्लिएका कालिबाबा दुईघण्टा भीमेश्वर मन्दिरमा रहेर कोरा क्षमापूजा, साधना लगायत भक्तजनहरु संंग भेट गरेका थिए । उनी साँझ ५ बजे काठमाडौँ फर्किए । भीमेश्वर मन्दिर परिसरमा पत्रकारहरुसंग सङ्क्षिप्त कुराकानि गर्दै कालिबाबाले भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रमा कुनै अनिष्ट नहोस् भनेर विशेष कोरा क्षमापूजा गर्न आएको बताए ।
उनले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने समेत बताए । सरकारले नेपाललाई हिन्दु राष्ट्र बनाओस भन्दै कालिबाबाले अर्कोपटक नेपाल आउँदा हिन्दुराष्ट्रको रुपमा पूजा आराधना गर्न पाइने विश्वास व्यक्त गरे । हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले भीमेश्वरको शिलामा पसिना आएपछि मुलुकमा प्लेन दुर्घटना, अनादार, भ्रष्टाचार लगायतका गतिविधि बढेको समेत बताए ।
नेपालमा जन्मिए पनि उनी भारतमा बस्दै आएका छन् । नेपाल र भारतका राजनीतिक नेताहरुले उनलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् । कालिबाबा भीमेश्वर मन्दिर प्रवेश गर्दा दोलखा लगायत जिल्लाको विभिन्न ठाउँबाट आएका भक्तजनहरुले फूलमालाले स्वागत गरेका थिए ।कालिबाबा भीमेश्वर मन्दिरमा पसिना आएको थाहा पाएपछि दोलखा आउनु भएको सामाजिक अभियन्ता प्रवीण प्रधानले बताए ।
मुलुकमा केही अनिष्ट हुँदा भीमेश्वरको शिलामा पसिना आउने जनविश्वास रहँदै आएको छ । गत २०८१ साउन ५ गते शनिवार र साउन ९ गते बुधवार भीमेश्वरको शिलामा तीन पटक पसिना आएको थियो । कालिबाबासंग भारतीय जगतगुरु, सन्तमहात्माहरु, बिशिष्ठ धार्मिक व्यक्तित्वहरु र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा समेत दोलखा आएका थिए ।





