काठमाडौँ : देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी, हिन्दुवादी र राष्ट्रवादीहरू एक ठाउँ उभिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् ।
‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको छ । विद्यमान सम्पूर्ण कमी कमजोरी अन्त्य गरेर अघि बढ्न राजावादी, हिन्दुवादी र राष्ट्रवादीको एकता आवश्यक भएको छ । देश र समाजलाई सङ्कटमुक्त गर्न राप्रपा दत्तचित्त भएर अघि बढेको छ, हामी लक्ष्य प्राप्त नगरेसम्म विश्राम लिँदैनौँ,’ राप्रपाका संगठन विभाग प्रमुखसमेत रहेका राणाले शनिबार भने ।
स्थानीय तहको बल र विगत आन्दोलनको अनुभवका आधारमा राप्रपा यस पटक पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रस्ट गरे । आन्दोलनकै बाटोबाट भ्रष्ट नेताहरूलाई बिदा दिने उनले उद्घोष गरे ।





