काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’ र रमित ढुंगानाले निर्देशन गरेको ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका हुन् ।
लैङ्गिक असमानतासँग जुध्दै एक युवतीको सङ्घर्षलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको यो फिल्म लक्ष्मण सुवेदीको निर्देशनमा बनेको हो । नेपाली ग्रामीण समाजको वास्तविकतालाई पर्दामा उतार्दै, पितृसत्तात्मक सोचसँग सङ्घर्ष गर्ने मुख्य पात्र सतीदेवी अधिकारीको कथा प्रस्तुत गरिएको छ ।
समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा पेस गरेको फिल्मकाे कथा निर्देशक स्वयंले लेखेका छन् । ‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । फिल्ममा रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मले लैङ्गिक असमानता, ग्रामीण समुदायमा महिलाले भोग्नुपर्ने समस्याहरू, र समाजको परम्परागत सोचको विरुद्ध लड्ने कथालाई प्रस्तुत गरिएको छ । निर्देशक सुवेदीले वास्तविक जीवनका घटनाहरूलाई कथामा समावेश गरेर सामाजिक सुधारको पक्षमा आवाज उठाएको बताए ।
‘नमेटिने घाउ’
यस फिल्मले एसिड आक्रमणको भयावहता र पीडितहरूले न्यायका लागि गरेको सङ्घर्षलाई मुख्य विषय बनाएको छ । फिल्ममा विशेष आकर्षण भनेको यसमा देखिएका अतिथि भूमिकाहरू हुन् ।
जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको उपस्थितिले फिल्मलाई थप चर्चा दिलाएको छ । ट्रेलरमा यी राजनीतिक हस्तीहरूले एसिड आक्रमणविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएको दृश्यले दर्शकको चासो बढाएको छ ।
फिल्मले एसिड आक्रमणबाट पीडित व्यक्तिहरूको शारीरिक, मानसिक, र सामाजिक पीडा चित्रण गर्दै समाजमा चेतना फैलाउने उद्देश्य राखेको छ । यसले पीडितको न्यायको माग र एसिडको बिक्री वितरणमा रोक लगाउने मागलाई सशक्त रूपमा उठाएको छ ।
एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत १२५ जना कलाकारको अभिनय रहेको छ ।
यस्तै दुई सयभन्दा बढी प्रहरी अधिकारीहरूको अभिनयले फिल्मलाई थप यथार्थपरक बनाएको छ । निर्देशक रमित ढुङ्गानाले समाजमा चेतना फैलाउनका लागि निर्माण गरिएको यो फिल्मको दोस्रो र तेस्रो भागको पनि तयारीमा रहेको जानकारी दिएका छन्।