कास्की : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी संगठन निर्माण र विचारको विकास भएको बताएका छन् ।
कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापनमा उनले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
“हामी सरकारको जोडघटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो,” उनले भने ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गरे । राष्ट्रिय स्वाधीनता र हालका उपलब्धिको रक्षा अरू पार्टीबाट सम्भव नरहेको उनले जिकिर गरे ।
उनले भने, “परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनः संघर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनुपर्दछ ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको उनले बताए । उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका निम्ति तयारी गर्नुपर्नेमा जोड दिए ।
“अहिले समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो,” उनले भने ।
उक्त बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायत नेताले आ–आफ्नो धारणा राखेका थिए । रासस