काठमाडौं : गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा सधैँ झैँ एक कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलसहितलाई आमन्त्रण गरिएको थियो ।
गौरा पर्वलाई विशेष गरी सुदूरपश्चिमका नागरिकले मनाउने गर्छन् । हरेक वर्ष गौराको अवसरमा टुँडिखेलमा कार्यक्रमको आयोजना गरिन्छ । सुदूरपश्चिमेलीहरू एक ठाउँमा भेला हुने पर्व पनि हो, गौरा ।
सधैँ झैँ यसपटक पनि देशका शीर्ष नेताहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो । सुदूरपश्चिमका नेताहरू त झनै छुट्दैनन्, पार्टी फरक भए पनि गौराको दिन उनीहरू टुँडिखेलमा जम्मा भएर सँगै देउडा खेल्ने गर्छन् ।
यसपटक पनि कार्यक्रममा केही पृथक देखियो । जसै प्रधानमन्त्री ओली मञ्चमा उक्लिए, युवाहरूको एक समूहले उनीविरुद्ध नाराबाजी गर्यो । उनीहरूले ‘केपी तेरो पाराले, दुःख पायो साराले’, ‘केपी ओली, देश छोड’लगायतका नारा लगाएर नाराबाजी गरे । उनीहरू ओलीविरुद्ध नाराबाजीमात्र गरिरहेका थिएनन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थनमा हुटिङ पनि गरिरहेका थिए ।
भाषणका क्रममा प्रधानमन्त्री ओली उनीहरूप्रति संयम भएर बोले । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए ।
तर, कांग्रेस सभापति देउवा निकै आक्रामकरूपमा प्रस्तुत भए । प्राय: छोटो भाषण गर्ने देउवा नाराबाजी गर्नेविरुद्ध खनिए । भाषणको सुरुमा देउवा नम्र देखिएका थिए । उनको अनुहारमा रिस उठेको त देखिन्थ्यो तर उनले नियन्त्रणमै राखेका थिए ।
तर, नाराबाजी झन् चर्को बनेपछि देउवाले रिस थाम्न सकेनन् । सुरुमा त उनले ‘जति कराउनु छ, तपाईंहरू कराउनुस्’ भने । दर्शकदीर्घाबाट आवाज झन् चर्को बन्यो । देउवा पनि के कम, औँला ठड्याएरै भने, “लाज पनि छैन, अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू, बदमासहरू ।”
“यही हो नेपालको संस्कृति, यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरू,” आफ्नै शैलीमा देउवाले भने ।
देउवाले भाषण गरिरहँदा उनको पछाडि उभिइरहेकाहरू हाँसिरहेका थिए । दर्शकदीर्घाबाट हुटिङ भइरहेको थियो ।
त्यसपछि केही संयमित हुँदै देउवाले भने, “त्यसकारण, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यस्तै छ । यहाँ गौरा पर्व सुन्न आएकाहरू छन्, यहाँ देउडा खेल्न आएकाहरू छन् । कुरा सुन्न दिँदैनन्, यस्ता अर्काको कार्यक्रम बिथोल्नेहरू यहाँ बसेका छन् । यस्ताहरूलाई जनताले ठिक पार्नेछन् भन्ने मलाई विश्वास छ ।”