जबरजस्ती मिर्गौला बेच्न लगाएको आरोपमा दुई पक्राउ

२०८१ भाद्र ११, मंगलवार

काठमाडौँ : आर्थिक प्रलोभनमा पारेर जबरजस्ती मिर्गौला बेच्न लगाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका- २ की ४२ वर्षीया शान्तिमाया घलान छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युराले खत्रीलाई आइतबार र घलानलाई मंगलबार पक्राउ गरेको हो । उनीहरुले नुवाकोटका २८ बर्षीय युवालाई १० लाख रुपैयाँ दिने प्रलोभनमा जबरजस्ती मिर्गौला बेच्न लगाएका थिए । यसका लागि युवालाई भारतको कोलकता लगिएको थियो । पक्राउ परेकाहरू सोही धन्दामा संलग्न मध्येका रहेको ब्युरो प्रवक्ता एसपी गौतम मिश्रले बताए ।

उनले भने, ‘१० लाख रुपैयाँ दिने प्रलोभनमा एक युवालाई जबरजस्ती मृगौला बेच्न लगाए छन् । यसका लागि युवालाई कोलकाता पुर्याए छन् । अनेक धाकधम्की दिएपछि युवालाई मृगौला बेच्न लगाएका रहेछन् । तर, रकम भने दिएन छन् । त्यसपछि युवा नेपाल फर्किएर जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।’

ब्युरोका अनुसार युवाको आर्थिक अवस्था कमजोर छ । दश लाख रुपैयाँ दिने प्रलोभनमा आरोपीहरूले युवालाई मृगौला बेच्न सहमत गराएका थिए । त्यसपछि युवालाई काठमाडौंबाट सुमो चढाएर वीरगन्ज लगिएको थियो । वीरगन्जबाट रेल हुँदै कोलकता पुर्याइएको थियो । मृगौला बेच्न गिरोहका सदस्यले सबै कागाजत नक्कली बनाएका थिए । सोही कागजातका आधारमा नाता प्रमाणित गरि युवालाई मृगौला बेच्न भनेका थिए ।

तर, कबुल गरेको रकम ‘ट्रान्सप्लान’पछि दिने भनेपछि युवा अस्पतालबाट भागेका थिए । पछि गिरोहका सदस्यले उनलाई पक्राउ गरेका थिए । त्यसपछि पनि उनलाई अनेक प्रलोभन दिएका थिए । युवा नमानेपछि भने ज्यान मार्ने धम्कि दिएका थिए । डराएका युवा मृगौला दिन राजी भएका थिए ।

मृगौला ‘ट्रान्सप्लान’पछि युवालाई केही रकम दिएर नेपाल पठाएका थिए । त्यसपछि पीडित युवा नेपाल आएर प्रहरीमा जाहेरी दिएका थिए । गिरोहमा अन्य सदस्य पनि संलग्न रहेको हुँदा खोजी कार्य तिब्र पारिएको ब्युरो प्रवक्ता एसपी मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार