काठमाडौँ : किसानको उधारो तिर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानहरूको बाँकी रकम दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए ।
बिहीबारको मन्त्रिपरिषद्ले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको थियो ।
अब यो रकमबाट डीडीसीले तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानी दिनुपर्नेछ।