प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी : माओवादी जनयुद्ध हिंसा नै हो

२०८१ भाद्र २२, शनिबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिवार काठमाडौँमा २१ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे ।

उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताए । उनले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरे । उनले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताए ।

ओलीले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताए । झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको बतए ।

उनले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रिया ? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन । जनआन्दोलन हो भनेपनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ ।’

अध्यक्ष ओलीले आफुहरुले पनि झापा आन्दोलनताका लिएका नीतिहरु बदलेर अघि बढेको बताए । उनले भने, ‘मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने । बदलियो । सही भएन त बदल्नुपर्छ । त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ । बदल्नुपर्दथ्यो, बदलियो पनि । हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ । त्यसले फेरि खतरा ल्याउँछ ।’

उनले हिंसाको महिमा मण्डन गर्न नहुने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार